दफा ११
महसुल निर्धारण गर्न निवेदन दिनु पर्ने
सेवा प्रदायकले महसुल निर्धारण गराउने सम्बन्धमा देहायका विवरणहरु सहित तोकिए बमोजिमको ढाँचामा आयोग समक्ष निवेदन दिनु पर्नेछ ः–
(क) प्रस्तावित महसुल निर्धारण गर्नु पर्ने आधार,
(ख) महसुल दरमा परिवर्तन गर्नु पर्ने भए त्यसका आधार,
(ग) साविकमा लिई आएको महसुल र प्रस्तावित महसुल दर स्पष्ट देखिने गरी तयार गरिएको तुलनात्मक मूल्य सूची,
(घ) सेवा प्रदायकले प्रस्ताव गरेको महसुलबाट सेवा सञ्चालन, मर्मत तथा संभार खर्च, ह्रास कट्टी, सेवा प्रदायकले सेवा सञ्चालनको लागि लिएको ऋणको सावाँ ब्याजको भुक्तानी, वार्षिक मूल्यवृद्घिबाट बढ्ने खर्च समेतको हिसाब गरी सेवा प्रदायकलाई हुन सक्ने मनासिब मुनाफा,
(ङ) प्रस्तावित महसुलबाट खण्ड (घ) बमोजिमको खर्च धान्न र मुनाफा आर्जन गर्न पर्याप्त हुने नदेखिएमा वा तत्काल महसुल बढाउन नहुने भएमा त्यस्तो अपर्याप्तता पूर्ति गर्न सेवा प्रदायकले पहिचान गरेको आर्थिक स्रोत र दीर्घकालीन योजनाको मनासिब आधार,
(च) सेवा सञ्चालन खर्चमा सालबसाली हुने वृद्धि र प्रस्तावित महसुलको तुलनात्मक विश्लेषण,
(छ) प्रस्तावित महसुल व्यहोर्न नसक्ने तहका उपभोक्तालाई महसुलमा छूट गर्ने सम्बन्धमा तयार गरेको आधार र त्यस्तो छूट महसुलका कारणले अन्य उपभोक्तालाई पर्न सक्ने थप भार,
(ज) सेवा प्रदायकले प्रचलित कानून बमोजिम स्थापना भएको कुनै निकायबाट सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेको वा सम्झौता गरेकोमा त्यस्तो अनुमतिपत्र वा सम्झौताको प्रतिलिपि,
(झ) तोकिए बमोजिमका अन्य कुराहरु ।